
प्रतिनिधिसभा चुनाव ऐतिहासिक उपलब्धि : प्रधानमन्त्री कार्की
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताएकी छन्।
निर्वाचन आयोगले काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै उनले नवयुवा आन्दोलनपछिको असामान्य अवस्थालाई सामान्यीकरण गर्दै सरकारले सफलतापूर्वक चुनाव गराउन सकेको उल्लेख गरिन्। उनका अनुसार यस्तो चुनौतीपूर्ण परिस्थितिमा चुनाव सम्पन्न गर्नु सजिलो कार्य थिएन।
प्रधानमन्त्री कार्कीले निर्वाचनले देशमा लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्दै नयाँ राजनीतिक अध्यायको सुरुवात गरेको बताइन्। चुनावमार्फत मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएको उनको भनाइ छ।
सरकार गठनको समयको चुनौतीपूर्ण अवस्थालाई स्मरण गर्दै उनले देशको सुरक्षा अवस्था अत्यन्त संवेदनशील रहेको, सुरक्षाकर्मीका हतियार खोसिएको र राजनीतिक दलहरूबीच संवादहीनता रहेको अवस्थामा आफूले सरकारको नेतृत्व सम्हालेको बताइन्।
उनले भनिन्, ‘नवयुवा आन्दोलनपछिको असामान्य अवस्थालाई सामान्यीकरण गर्दै तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गर्नु हाम्रो लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो। चुनावले संवैधानिक प्रणालीको संरक्षण गर्दै लोकतान्त्रिक मूल्य–मान्यता अझ सुदृढ बनाएको छ। चुनौतीपूर्ण सुरक्षा अवस्था, राजनीतिक संवादको अभाव र कानूनी–राजनीतिक शून्यताको बीच ६ महिनाभित्र चुनाव सम्पन्न गर्नु सहज थिएन। तर सरकारले सम्पूर्ण शक्ति, स्रोत र प्रतिबद्धता यसैमा केन्द्रित गर्यो।’
प्रधानमन्त्री कार्कीले चुनाव सफल बनाउन सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदाय, सुरक्षाकर्मी, निर्वाचन आयोग तथा सबै सरोकारवालाप्रति धन्यवाद व्यक्त गरिन्। उनका अनुसार यस निर्वाचनले नेपालको लोकतान्त्रिक व्यवस्थालाई थप मजबुत बनाएको छ।



कागजपत्र |
