
समृद्ध नेपालका लागि एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई समृद्ध बनाउने लक्ष्य हासिल गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताएका छन्।
निर्वाचन आयोगले काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको जीवनस्तर उकास्दै समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्य लिएको उल्लेख गरे। उक्त लक्ष्य पूरा गर्न सबैले ध्यान केन्द्रित गर्ने समय आएको उनले बताए।
राष्ट्रपति पौडेलले निर्वाचनमार्फत प्राप्त जनादेशले देशको भविष्यलाई स्पष्ट दिशानिर्देश गरेको पनि उल्लेख गरे। उनले लोकतन्त्रप्रतिको जनविश्वास मतदाताको उत्साहपूर्ण सहभागिताबाट पुनः पुष्टि भएको बताए।
उनले भने, नागरिकले आफ्नो प्रतिनिधि छान्ने अधिकार प्रयोग गर्दै निर्वाचनमा देखाएको सक्रिय सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति अटुट विश्वास झल्काएको छ। मतदानमार्फत व्यक्त जनादेशले देशको भावी दिशा तय गरेको भन्दै उनले अब स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिका लागि जनप्रतिनिधिहरूले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएका छन्।
लोकतन्त्रमा मत फरक हुन सक्ने भए पनि राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपाली एकजुट हुने विश्वास उनले व्यक्त गरे।
राष्ट्रपति पौडेलले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा सरकार, निर्वाचन आयोग, राजनीतिक दल तथा सुरक्षा निकायसहित सबै सरोकारवालाप्रति आभारसमेत व्यक्त गरे।



कागजपत्र |
