निष्क्रिय पुँजी उत्पादनशील क्षेत्रमा नलगिए अर्थतन्त्र सुदृढ हुँदैनः अर्थमन्त्री खनाल


काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीहरू सामना गर्न आगामी सरकारले प्रभावकारी र समयानुकूल कदम चाल्ने विश्वास व्यक्त गरेका छन्।

बुधबार काठमाडौंमा नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले मध्यपूर्व तथा खाडी मुलुकहरूमा विकसित भइरहेको संकटका कारण नेपालको आपूर्ति शृङ्खलामा असर पर्ने र आयातित वस्तुहरूको मूल्य वृद्धि हुने संकेत देखिएको बताए। यस्तो परिस्थितिमा सशक्त बहुमतसहित बन्ने नयाँ सरकारले बाह्य चुनौतीहरूको सामना गर्न ठोस नीति र निर्णयहरू लिनुपर्ने उनको धारणा थियो।

उनले बाह्य क्षेत्रका चुनौतीहरू व्यवस्थापन गर्न केही निर्णयहरू छिटो र निर्णायक रूपमा लिनुपर्ने आवश्यकता औंल्याए।

अर्थमन्त्री खनालले देशको अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिए पनि निष्क्रिय पुँजी अझै उत्पादनशील क्षेत्रमा परिचालन हुन नसकेको टिप्पणी गरे। उनका अनुसार रोजगारी सिर्जना, निष्क्रिय पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण, तथा लगानीकर्ताको पहुँचमा सहज रूपमा पुँजी उपलब्ध गराउने व्यवस्था नभएसम्म केवल आर्थिक सूचकहरू सुधारिए पनि त्यसले वास्तविक सन्तुष्टि दिन सक्दैन।

उक्त कार्यक्रममा कोषका कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। साथै, मन्त्री खनालले कोषद्वारा प्रकाशित स्मारिकाको विमोचन पनि गरेका थिए।

प्रतिक्रिया