


नेपालमा दैनिक ११ हजार बढी नयाँ संक्रमित थपिन सक्छन्ः स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ ।
स्वास्थ्य मन्त्रालयले मंगलबार एक पत्रकार सम्मेलन गर्दै अहिलेकै अवस्थामा संक्रमितको संख्या बढ्ने क्रम रहेमा जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार बढी संक्रमित हुने जनाएको हो ।
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले अहिलेकै गतिमा संक्रमित संख्या बढ्दै गएमा जेठ असारमा सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए । ‘नहोस् तर अहिलेको ट्रेण्डका आधारमा यो प्रक्षेपण गरिएको हो’ उनले भने, ‘त्यसका लागि आवश्यक तयारी पनि गरिएको छ ।’
पछिल्ला दिनमा युवा र कम उमेरका बालबालिकामा संक्रमण देखिनु नराम्रो संकेत बताउँदै मन्त्री त्रिपाठीले संक्रमणको चेन ब्रेक गर्न उपत्यकासहित ठूला शहरहरुमा एक महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरिएको बताए ।
त्यस्तै संक्रमित संख्या बढ्ने अनुमानसँगै काठमाडौं उपत्यकाका सबै अस्पताललाई तयारी अवस्थामा राख्न समेत मन्त्री त्रिपाठीले निर्देशन दिए ।

