
कांग्रेसले प्रतिज्ञा गरेर आएको छ, जनताले यो पाँच वर्ष मौका दिन आवश्यक छ: सभापति थापा
बागलुङ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले पार्टीको संगठनलाई सबैभन्दा ठूलो शक्ति भन्दै त्यसको माध्यमबाट मतदातासम्म पुग्न सबै कार्यकर्तालाई निर्देशन दिएका छन्। शुक्रबार बागलुङमा आयोजित चुनावीसभामा उनले सामाजिक सञ्जालको प्रभावमा होइन, पार्टीको आफ्नै संगठनको शक्ति र तागतमा उभिएर जनताको घर–घरमा पुगेर आफ्ना कुरा राख्न र मत माग्न आग्रह गरे।
सभापति थापाले भने, “सामाजिक सञ्जालमार्फत अरूलाई टीकाटिप्पणी वा आक्षेप नगरी आफ्ना कार्यकर्ताको घरमा पुगेर जनतालाई आश्वस्त पार्नुहोस् कि अबको पाँच वर्ष खेर फालिने छैन। कांग्रेसले संकल्प र प्रतिज्ञा गरेर आएको छ, त्यसैले जनताले यो पाँच वर्ष मौका दिनु आवश्यक छ।”
उनले थपे, “यो पाँच वर्ष जोखिमपूर्ण ढंगले बनाइएको संविधान बचाउने, सहर र गाउँलाई जोड्ने समय हो। सम्हाल्दै, सुधार्दै र अघि बढ्दै जाने शक्ति कांग्रेससँग मात्रै छ। मतदातासँग गएर यो कुरा भन्नुहोस् र पार्टीको ‘भिजन १०’ बारे बुझाउनुहोस्।”
सभापति थापाले कांग्रेस युवाहरूको मागअनुसार रूपान्तरण भएको बताए र अनुभवी तथा बदलेको पार्टीले अब युवाहरूको भावनालाई सम्बोधन गर्ने स्पष्टता पनि व्यक्त गरे।



कागजपत्र |
