निर्वाचनका कारण भंगहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द


जनकपुरधाम-  प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल रेल्वे कम्पनी लिमिटेड ले भंगहा–जनकपुर–जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।

कम्पनीले शुक्रबार जारी गरेको सूचनाअनुसार फागुन १९ गते मंगलबारदेखि फागुन २१ गते बिहीबारसम्म तीन दिनका लागि रेल सेवा पूर्ण रूपमा बन्द रहनेछ। फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने मतदानलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उक्त निर्णय गरिएको जनाइएको छ।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाल का अनुसार निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जयनगर–जनकपुर–बर्दिवास खण्डमा चल्ने रेल सेवा मतदान सुरु हुनुभन्दा ७२ घण्टा अगावै बन्द गर्ने व्यवस्था गरिएको हो।

रेल सेवा बन्द हुँदा यात्रुहरूलाई पर्न सक्ने असुविधाप्रति कम्पनीले क्षमायाचना मागेको छ। साथै, फागुन २२ गते शुक्रबारदेखि रेल सेवा साविकबमोजिम नियमित रूपमा पुनः सञ्चालनमा आउने पनि कम्पनीले जनाएको छ।

प्रतिक्रिया