आमा ठग्ने राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल पूर्पक्षका जेल चलान


काठमाडौं – काठमाडौं जिल्ला अदालतले नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । आफ्नी ८५ वर्षीया आमालाई ३ करोड रुपैयाँ ठगी गरेको आरोपमा रेग्मी पक्राउ परेकी थिइन् ।

अदालतका न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले रेग्मीलाई थुनामा पठाउने आदेश गरेको हो । उनलाई पुर्पक्षको लागि जगन्नाथ देवल सुन्धारा महिला वन्दी गृह थुनामा पठाइएको छ ।

नेपाल राष्ट्र बैंकको कर्पोरेट प्लानिङ तथा रिस्क म्यानेजमेन्ट विभागकी निर्देशक रेग्मीलाई सुष्माकी आमाले आफूलाई ठगेको भन्दै छोरीविरुद्ध उजुरी दिएकी थिइन् ।

उजुरी अनुसार रेग्मीले विभिन्न बैंकमा भएको आमाको खाताको पैसासहित ३ करोडभन्दा बढीको सम्पत्ति आमाको हेरचाह गर्ने भन्दै आफ्नो नियन्त्रणमा लिएकी थिइन् ।

तर, पैसा लिएर आफ्नो हेरचाह नगरेको आमाले आरोप लगाएकी छिन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले शोभा रिजालको जाहेरीले रेग्मीलाई चैत २२ मा पक्राउ गरेर जेष्ठ नागरिक ऐन २०७३ अनुसार मुद्दा अघि बढाएको थियो ।

प्रतिक्रिया