
बालेनको अभिव्यक्तिप्रति निर्माण व्यवसायीको आपत्ति, माफी माग्न माग
काठमाडौं- नेपाल निर्माण व्यवसायी महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले निर्माण व्यवसायीलाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। महासङ्घले सोमबार पत्रकार सम्मेलन गरी उक्त अभिव्यक्तिले देशभरका ३० हजारभन्दा बढी निर्माण व्यवसायीको मानमर्दन गरेको आरोप लगाउँदै सार्वजनिक रूपमा आत्मालोचना गर्न माग गरेको हो।
महासङ्घका अनुसार फागुन ६ गते धनगढीमा आयोजित चुनावी सभामा शाहले निर्माण कार्यमा ढिलाइ भएको प्रसङ्गमा व्यवसायीलाई ‘रुखमा बाँधेर, बाटोमा सुताएर वा खोरमा जाकेर भए पनि बाटो बनाउनुपर्ने’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइलाई महासङ्घले अमर्यादित, अराजक र उत्तेजक भन्दै कडा आपत्ति जनाएको छ।
महासङ्घले विकास निर्माणमा ढिलाइ हुनुको जिम्मेवारी केवल निर्माण व्यवसायीलाई दिनु अन्यायपूर्ण भएको स्पष्ट पारेको छ। मुलुकमा विद्यमान अव्यवहारिक ऐन–कानुन, जटिल प्रशासनिक प्रक्रिया र सरकारको नीतिगत कमजोरी नै ढिलाइको प्रमुख कारण रहेको महासङ्घको भनाइ छ।
प्राविधिक पृष्ठभूमि भएका जिम्मेवार नेताबाट तथ्य नबुझी सस्तो लोकप्रियताका लागि धम्कीपूर्ण भाषा प्रयोग गर्नु निर्वाचन आचारसंहिताविपरीतसमेत भएको महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार सरकारको अदूरदर्शी नीतिका कारण हाल देशभर करिब ३० हजार आयोजना अलपत्र अवस्थामा छन्। राज्यसँग साढे ६ खर्ब रुपैयाँभन्दा बढीका आयोजना पुगिसके पनि ती सम्पन्न गर्न आवश्यक आर्थिक स्रोत र व्यवस्थापन सरकारले सुनिश्चित गर्न नसकेको आरोप पनि महासङ्घले लगाएको छ।
निर्वाचनको पूर्वसन्ध्यामा जिम्मेवार राजनीतिक दलका पदाधिकारीबाट निर्माण व्यवसायीको तेजोबध गर्ने किसिमको अभिव्यक्ति आउनु गम्भीर विषय भएको उल्लेख गर्दै महासङ्घले उक्त अभिव्यक्तिप्रति अविलम्ब सार्वजनिक आत्मालोचना गर्न माग गरेको छ। साथै यस्ता अमर्यादित र उत्तेजक भाषणलाई गम्भीर रूपमा लिँदै आवश्यक निर्देशन दिन निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराइएको छ।



कागजपत्र |
