
धनुषामा टिपरको ठक्करबाट ट्राफिक प्रहरी हवल्दारको मृत्यु
धनुषा- धनुषामा भएको सवारी दुर्घटनामा एक जना ट्राफिक प्रहरीको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–४ स्थित मुरलीचोकमा सोमबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक ट्राफिक प्रहरी हवल्दार चन्द्रकला महतोको मृत्यु भएको हो।
महतो हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भ्रमरपुराचोकबाट मुरलीचोकतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००२ प ७३५२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी महतोको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख सूर्यबहादुर शाहीले जानकारी दिए।
महतोको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।
दुर्घटनामा संलग्न टिपर चालक, टिपर र मोटरसाइकललाई ट्राफिक प्रहरी कार्यालय जिरोमाइलले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
