मासु प्रशोधन उद्योगमा नेपाली र चिनिया कामदारबीच झडप


काठमाडौं– सिन्धुलीको मरिण गाउँपालिकामा निर्माणाधीन राँगाको मासु प्रशोधन उद्योगमा नेपाली र चिनियाँ कामदारबीच झडप भएको छ। झडपका क्रममा सात जना घाइते भएका छन्।

घाइते हुनेमा २ जना नेपाली र ५ जना चिनियाँ कामदार रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मरिणमा निर्माणाधीन हिमालयन फुड प्रोसेसिङ कम्पनीमा कार्यरत गाडी चालक स्थानीय नमराज बम्जनलाई कामबाट हटाइएपछि विवाद सुरु भएको थियो।

गाडी चालकलाई कामबाट निकालिएको विषयलाई लिएर नेपाली कामदारलाई हेपिएको आरोपसहित विवाद चर्किँदै जाँदा स्थिति कुटाकुटमा परिणत भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी सूर्य प्रकाश सुवेदीले जानकारी दिए।

झडपमा घाइते भएका कामदारहरूलाई प्राथमिक उपचार केन्द्र कपिलाकोटमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ। हाल अवस्था नियन्त्रणमा रहेको र घटनाको कारण तथा दोषी पहिचानका लागि अनुसन्धान प्रक्रिया अघि बढाइएको सूचना अधिकारी सुवेदीले बताएका छन्।

प्रतिक्रिया