नेकपा अध्यक्ष कट्टेल र बहुमतका महासचिव बास्तोला पक्राउ


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ऋषि कट्टेल पक्राउ परेका छन्।

निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता रामेश्वर कार्की (एसपी)का अनुसार कट्टेललाई बुधबार कीर्तिपुरबाट नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका कट्टेललाई थप कारबाहीका लागि काठमाडौं प्रहरी परिसरमा बुझाइएको प्रहरीले जनाएको छ।

यस्तै, निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमै नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला पनि पक्राउ परेका छन्। उनलाई मंगलबार नै पक्राउ गरिएको एसपी कार्कीले जानकारी दिए।

बहुमतका महासचिव बास्तोलासँगै पार्टीका काभ्रे इन्चार्ज विष्णुप्रसाद तिमल्सिना र अर्का नेता एसपी शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरू सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं प्रहरी परिसर पठाइएको छ।

प्रतिक्रिया