उम्मेदवारलाई मुक्तकमैयाको प्रश्नः ‘हाम्रा माग कहिले पूरा हुन्छन् ?’


कञ्चनपुर – चुरेफेदस्थित शुक्लाफाँटा नगरपालिकाअन्तर्गत पर्ने मुक्तकमैया बस्ती नौखरी प्रवेश गर्ने मुख्य मार्गमा राखिएको होर्डिङ बोर्ड (सूचना पार्टी)ले निर्वाचन नजिकिएको सङ्केत गर्छ ।

उक्त बोर्ड कुनै व्यावसायिक प्रयोजनका लागि नभई प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई लक्षित गरी राखिएको हो । बोर्डमा स्पष्ट शब्दमा लेखिएको छ, ‘हाम्रा माग कहिले पूरा हुन्छन् ?’

बाध्यकारी श्रम प्रथाबाट मुक्त गरिएका कमैयालाई समाजमा पुनःस्थापना गर्ने सरकारी घोषणाको अढाइ दशक बितिसक्दा पनि आधारभूत अधिकार र सेवाबाट वञ्चित हुनुपरेको भन्दै बस्तीबासीले १८ बुँदे मागसहितको होर्डिङ बोर्ड बस्ती प्रवेशद्वारमा राखेका हुन् । विसं २०५८ देखि उक्त बस्तीमा छ सय ४८ मुक्तकमैया परिवार बसोबास गर्दै आएका छन् ।

सरकारले जमिन उपलब्ध गराएर पुनःस्थापना गरेको जनाए पनि व्यवहारमा मुक्तकमैया परिवार अझै असुरक्षित र सीमित अधिकारको घेरामा रहेको गुनासो बस्तबासीको छ । पुनःस्थापनाका क्रममा प्राप्त जमिन लालपुर्जामा परिणत नभएको, धितो राख्न नपाइने र बिक्री गर्नसमेत नपाइने अवस्थाले आर्थिक क्रियाकलापमा बाधा पुगेको ५० वर्षीय जोगिराम डगौराले बताए ।

पाँच कट्ठा जमिन पाएको जनाउँदै त्यसलाई बैंकमा धितो राख्न वा बिक्री गर्न नपाइने कानुनी सीमाले उद्यम गर्न कठिनाइ भएको उनले बताए । “उद्यम गर्न चाहँदा पनि कानुनी व्यवस्थाले रोक्छ”, उनले भने, “त्यसको अन्त्य गर्ने व्यवस्था गरिनु पर्‍यो ।”

बस्तीमा शुद्ध खानेपानीको अभाव अर्को गम्भीर समस्या बनेको छ । हालसम्म हेण्डपम्पको पानी प्रयोग गर्नुपरेको भन्दै त्यसमा आर्सेनिक तथा आइरनको मात्रा बढी रहेकाले विभिन्न समयमा स्वास्थ्य समस्या आउने गरेको डगौराले जानकारी दिए । “पानीका कारण बस्तीमा विभिन्न स्वास्थ्य समस्या देखिएका छन्”, उनले भने, “वैकल्पिक स्रोत नहुँदा जोखिमयुक्त पानी पिउनुपर्ने बाध्यता छ ।”

स्थानीय महिलाहरूका अनुसार स्वास्थ्य उपचार पूर्ण रूपमा निःशुल्क हुनुपर्ने माग पटकपटक उठाए पनि कार्यान्वयनमा ठोस प्रगति भएको छैन । घरकटुवा र सनबोरा नदीले बर्सेनि बस्ती क्षेत्र कटान गर्दै आएको स्थानीय मायादेवी चौधरीले बताइन् । “बस्ती जोगाउन तटबन्ध निर्माणको माग वर्षौंदेखि गर्दै आएका छौँ, तर सुनुवाइ भएको छैन”, उनले भनिन् । वर्षायाममा बस्तीबासी त्रासमा बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

प्रतिक्रिया