संसदीय समिति सदस्य हेरफेर : नेपाल पक्षकालाई हटाएर ओली निकटकालाई दिईयो जिम्मेवारी (विवरणसहित)


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्यहरूमा परिवर्तन गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभाममुख सापकोटाले कार्यव्यवस्था परामर्श समिति, राज्यव्यवस्था तथा सुशासन समिति, महिला तथा सामाजिक समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समितिमा हेरफेर गरिएको जानकारी दिएका हुन् ।

सर्वोच्च अदालतको फागुन २३ गतेको निर्णयले नेकपा दुई दलमा विभाजित भएपछि सत्तारुढ नेकपा एमालेले संसद्‍मा दलीय प्रतिनिधित्वका आधारमा समिति पुनर्गठन गर्नुपर्ने माग गरेको थियो । एमालेका मुख्य सचेतक विशाल भट्टराईले विभिन्न समितिमा रहने सदस्यहरूको नामावली सभामुखलाई बुझाएका थिए ।

कार्यव्यवस्था परामर्श समितिमा रहेका एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरूलाई हटाएर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका सांसदहरूलाई जिम्मेवारी दिइएको हो । माओवादी केन्द्रले अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाललाई राज्यव्यवस्था तथा सुशासन समितिबाट कानुन, न्याय तथा मानवअधिकार समितिमा स्थानान्तरण गरिएको छ । राज्यव्यवस्थामै रहेकी सांसद पम्फा भुसाललाई सार्वजनिक लेखा समितिमा पठाइएको छ ।

सभामुखले संसदीय सुनुवाई समितिमा सर्वोच्च अदालतमा सिफारिस न्यायाधीहरूको सुनुवाई चलिरहेको भएकाले एमालेको सिफारिस अनुसार परिमार्जन नगरेका हुन् । एमाले पनि उक्त विषयमा सहमत भएपछि अन्य समितिमा मात्रै हेरफेर गरिएको हो ।

प्रतिक्रिया