दार्चुलामा अर्को हत्या, मृत भेटिइन् वृद्धा


दार्चुला– दार्चुलामा एकपछि अर्को हत्या घटनाले जिल्लालाई स्तब्ध बनाएको छ। शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार जोशी आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी हुन्। उनी घरमा एक्लै बस्दै आएकी थिइन् र घटनालाई हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

एसएसपी विष्टका अनुसार घटनाको सूक्ष्म अनुसन्धानका लागि धनगढीबाट तालिमप्राप्त कुकुरसमेत दार्चुला पठाइएको छ। प्रारम्भिक अवस्थाको अनुसन्धानबाट जोशीको घरमा लुटपाट गरेर हत्या गरिएको हुनसक्ने अनुमान गरिएको उनले बताए।

दार्चुलामै प्रहरी हवल्दार योगेन्द्र घर्ती मृत फेला परेका छन्। महाकाली नगरपालिका–४ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगरमा कार्यरत घर्तीको प्रारम्भिक अनुसन्धानका क्रममा हत्या गरिएको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रहरी हवल्दार घर्तीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान तीव्र बनाएको छ। लगातार भएका हत्या घटनाले जिल्लामा सुरक्षा चुनौती बढ्दै गएको देखिएको छ।

प्रतिक्रिया