
घरघरमा पाइपबाट ग्यास पुर्याउन सकिन्छ: केपी ओली
झापा- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब सिलिन्डरको आवश्यकता नपरी घरघरमा पाइपमार्फत खाना पकाउने ग्यास पुर्याउन सकिने बताएका छन्।
सोमबार झापामा घरदैलो कार्यक्रमको क्रममा मतदातालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ग्यास वितरणसम्बन्धी आफ्नो विचार राखेका हुन्। उनले नेपालमै उपलब्ध खाना पकाउने ग्यास निकासीमा समस्या भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले दैलेखमा ग्यास उत्खनन् रोकिएकोमा आपत्ति जनाउँदै त्यस काम छिटै सुरु गर्नुपर्ने बताए।
‘अहिले ग्यास निकाल्न छाडेर ताला लगाएर राखेको छ। त्यो ग्यास तत्काल निकाल्नुपर्छ,’ ओलीले भने। उनले दैलेखमा ग्यास उत्खनन् सुरु गरेपछि विदेशबाट आयात गरिएको ग्यासको आवश्यकता पनि रोकिने बताए।
अध्यक्ष ओलीले घरघरमा पाइपमार्फत ग्यास पुर्याउन सकिने र त्यसका लागि सिलिन्डरको आवश्यक नहुने पनि बताए। ‘पानीजस्तो ट्यांकमा ग्यास राखेर पाइपमार्फत घरघरमा पुर्याउन सकिन्छ,’ उनले भने।
यसअघि गुइँठा बाल्ने विषयमा दिएको अभिव्यक्तिप्रति आलोचना भएपछि ओलीले स्पष्टिकरण दिएका छन्। उनले भने, ‘संस्कृति बचाउनुपर्छ, गरिबी हटाउनुपर्छ। मानिसहरूलाई अलमलमा पारेर हाम्रो बेइज्जत भयो। हामीलाई गुइँठा बाल्ने भनियो भनेर आरोप लगाइएको छ। दाउरा बाल्ने होइन, अब बिजुली बाल्ने तर्फ जानु पर्छ।’



कागजपत्र |
