त्रिभुवन विमानस्थल भन्सारमै घुस काण्ड : अधिकृतसहित तीन कर्मचारी पक्राउ


काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयमै घुसको खेल चलेको खुलासा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विमानस्थलको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारीलाई घुस रकम र अवैध सामानसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भन्सार अधिकृत न्यौपाने, सञ्चार मन्त्रालयबाट खटिएका हुलाक सेवा विभागअन्तर्गत गोश्वारा हुलाक कार्यालयको निकासी शाखामा कार्यरत नायब सुब्बा (नासु) छविप्रसाद रिजाल तथा कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी रहेका छन् । अख्तियारले उनीहरूलाई दुई लाख ६८ हजार २८८ रुपैयाँ नगद र २३ थान मोबाइल फोनसहित नियन्त्रणमा लिएको जनाएको छ ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका तीनै जना कर्मचारी तथा अन्य केही शंकास्पद व्यक्तिको साथबाट समेत गरी २३ थान मोबाइल फोन बरामद गरिएको हो । अधिकृत न्यौपानेसहित पक्राउ परेकाहरूको साथबाट घुसको रकम तथा स्रोत नखुलेको नगदसमेत फेला परेको उनले जानकारी दिए ।

नेपालबाट कुरिअरमार्फत सामान पठाउने क्रममा सेवाग्राहीसँग अवैध रूपमा घुस लिएको उजुरी परेपछि अख्तियारले टंगालबाट विशेष टोली खटाएर निगरानी र नियन्त्रणको कारबाही अघि बढाएको हो ।

अख्तियारका अनुसार कार्यालय सहयोगी पुडासैनीको कार्यकक्षबाट १० हजार रुपैयाँ घुस रकम बरामद गरिएको छ भने उनको घरबाट स्रोत नखुलेको ४० हजार ३५० रुपैयाँ फेला परेको छ । साथै, उनको साथबाट ९६ हजार ७० रुपैयाँ बरामद हुँदा कुल रकम एक लाख ४६ हजार ४२० रुपैयाँ पुगेको छ ।

त्यसैगरी नासु रिजालको साथबाट सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुस तथा स्रोत नखुलेको १८ हजार ८४८ रुपैयाँ गरी कुल ३८ हजार ८४८ रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार यी सबै रकम अधिकृत न्यौपाने, नासु रिजाल र कार्यालय सहयोगी पुडासैनीबीच मिलेमतोमा घुस लिई आपसमा बाँडफाँट गर्ने तयारी भइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । पक्राउ परेका तीनै जनाका साथै अन्य कर्मचारीको साथबाट बरामद २३ थान मोबाइल फोन विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाउने तयारी गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया