रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज, न्यायाधीशद्वय मल्ल र निरौलाको इजलासमा सुनुवाई हुँदै


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पेसी तोकिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि दायर भएको रिटमा सुनुवाइ हुन लागेको हो । लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानूनविपरीत रहेको भन्दै उनले रिट दायर गरेका थिए ।

यसअघि यो मुद्दामा सर्वोच्चले तीन पटक फाइल मगाउने निर्णय गरेको छ । २०७९ चैत २२ गते कारण देखाऊ आदेश जारी गरेको सर्वोच्चले २०८० जेठ ९ गते फाइल मगाउने आदेश गरेको थियो । अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको र उक्त निर्णय प्राप्त भएपछि दोहोरो सुनुवाइ हुन लागेको हो ।

तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए । सफलले महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले रिटमा राहदानी विवादमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन अन्तरिम आदेश पनि माग गरेका थिए । तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

आफू अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिक हुँ भन्नु र पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५ ९ख० विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले निज रवि लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण छ भन्ने प्रस्ट रहेको उनले जिकिर गरेका छन् ।

प्रतिक्रिया