
देउवासँग निरन्तर संवादमा छु, पार्टी एक ढिक्का छ : गगन थापा
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र कुनै प्रकारको मतभेद वा विभाजन नरहेको स्पष्ट गर्दै आफू निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको दाबी गरेका छन्।
शुक्रबार धनुषामा आयोजित चुनावी कार्यक्रम तथा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्र दोषारोपण र रिसरागको राजनीति नभएको बताएका हुन्।
‘पार्टीभित्र कसैमाथि दोष र रिसराग छैन,’ थापाले भने, ‘म पार्टीका निवर्तमान सभापति, आदरणीय शेरबहादुर देउवासँग निरन्तर संवादमा छु। अन्य नेताहरूसँग पनि निरन्तर छलफल भइरहेको छ।’
उनले पार्टीभित्र कहिलेकाहीँ विचार फरक पर्न सक्ने भए पनि अन्तिममा कांग्रेस एक ढिक्का भएर अघि बढ्ने स्पष्ट पारे। अहिलेको निर्वाचनमा सबै नेता–कार्यकर्ता एउटै लक्ष्यका साथ जुटेको उनले बताए।
यसैक्रममा सभापति थापाले आगामी पाँच वर्ष कांग्रेसले मधेसका मुद्दा जुरुक्क बोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मधेसले कांग्रेसलाई पूर्ण विश्वास दिए कांग्रेसको एकमना सरकार बन्ने र मधेसका सबै मुद्दा प्राथमिकताका साथ उठाइने उनको भनाइ छ।
‘चाहे संविधान संशोधनको विषय होस् वा मधेसीमाथि हुने विभेदको मुद्दा सबै विषय कांग्रेसले जिम्मेवारीपूर्वक बोक्छ,’ उनले भने।
थापाले आफू निर्वाचन क्षेत्रका कारण नभई मधेसलाई जोड्न र विश्वास सुदृढ गर्न धनुषा आएको उल्लेख गर्दै मधेसलाई कांग्रेसको जननीको संज्ञा दिए।
मधेसका मुद्दा सम्बोधन गर्न आफू मात्र जितेर नपुग्ने भन्दै उनले पार्टीका उम्मेदवारहरूलाई जिताउन कार्यकर्तालाई आग्रह गरे। विगतमा पार्टीबाट भएका केही त्रुटिका कारण धेरै नेता–कार्यकर्ता बाहिरिएको स्वीकार गर्दै अहिले उनीहरू फर्किने क्रम सुरु भएको पनि बताए।
कार्यक्रममा सभापति थापाले धनुषा–१ का उम्मेदवारसहित क्षेत्र नम्बर–३ का उम्मेदवार पूर्वउपसभापति विमलेन्द्र निधि र क्षेत्र नम्बर–४ का उम्मेदवार महेन्द्र यादवलाई पनि जिताउन आग्रह गरेका छन्।



कागजपत्र |
