
राष्ट्रिय परिचयपत्र सेवा दुई दिनदेखि ठप्प
काठमाडौं- राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा पछिल्ला दुई दिनदेखि अवरुद्ध भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या देखिएको जनाउँदै मर्मत कार्य जारी रहेको जानकारी दिएको छ।
विभागका अनुसार समस्या समाधान नभएसम्म सेवा प्रवाह स्थगित रहनेछ। मर्मत कार्य सम्पन्न भएपछि सेवाहरू पुनः सुचारु गरिने विभागले जारी गरेको सूचनामा उल्लेख छ।
हाल अनलाइनमार्फत हुने राष्ट्रिय परिचयपत्र विवरण संकलन, कार्ड वितरण, विवरण सच्याउने सेवा तथा जन्मदर्ताका क्रममा राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्नेलगायतका सेवा अवरुद्ध भएका छन्।
विभागले जारी गरेको सूचनाअनुसार उक्त समस्या माघ १ गतेदेखि देखिएको हो र आज पनि सेवा सञ्चालन हुन सकेको छैन। सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरू प्रभावित भएका छन्।



कागजपत्र |
