डडेल्धुराका रास्वपा सभापति भन्छन्– सागर ढकालको उम्मेदवारी दाबी मिडिया ट्रायल हो


डडेल्धुरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबाट उम्मेदवार बन्ने दाबी सार्वजनिक गरेपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ। यसप्रति प्रतिक्रिया दिँदै रास्वपा डडेल्धुरा जिल्ला सभापति सुरेन्द्र अवस्थीले ढकालको अभिव्यक्तिलाई पार्टीको औपचारिक निर्णय नभएको स्पष्ट पारेका छन्।

अवस्थीले सागर ढकालले सार्वजनिक रूपमा बनाइरहेको माहोललाई ‘मिडिया ट्रायल’को संज्ञा दिएका छन्। उनका अनुसार पार्टी सभापति रवि लामिछानेसहितको टोलीले ढकाल डडेल्धुरामा कमजोर उम्मेदवार हुने निष्कर्ष निकाल्दै उनलाई रुपन्देही–२ बाट निर्वाचन लड्न सुझाव दिएको थियो।

तर त्यसपछि पनि ढकालले डडेल्धुरामै उम्मेदवारी दाबी गर्दै सार्वजनिक अभिव्यक्ति दिइरहेको अवस्थीको भनाइ छ। ‘पार्टीले अहिलेसम्म कसैलाई पनि उम्मेदवार घोषणा गरेको छैन,’ उनले भने, ‘तर सागर ढकालले बाहिर आफू डडेल्धुराबाटै हुनेजस्तो वातावरण बनाइरहनुभएको छ। यो मिडिया ट्रायल हो।’

अवस्थीले डडेल्धुरामा जबर्जस्ती उम्मेदवार स्वीकार्य नहुने स्पष्ट पार्दै स्थानीय नेतृत्व र कार्यकर्ताको भावना बेवास्ता गर्न नहुने बताए। उनले ढकाललाई चाहेमा पार्टी छोडेर स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने विकल्प खुला रहेको पनि उल्लेख गरे।

‘हामी डडेल्धुराकै मान्छे सक्षम छौं। यहाँ काम गरेका र जनताले चिनेका व्यक्ति नै उम्मेदवार हुनुपर्छ,’ अवस्थीले भने, ‘उहाँले आफ्नै ठाउँमा गएर चुनाव जित्नुपर्छ।’

आफ्नो दाबी पनि बलियो रहेको दाबी गर्दै अवस्थीले भने, ‘सागर ढकालजत्तिकै दाबेदारी मेरो पनि छ। म नै उम्मेदवार हुँ। अन्तिम निर्णय पार्टीबाटै हुन्छ।’

प्रतिक्रिया