
फर्कन थाले विशेष महाधिवेशनका प्रतिनिधिहरू
कांग्रेसभित्र असन्तुष्टि विस्फोट, नेतृत्वको बार्गेनिङ राजनीतिप्रति आक्रोश
काठमाडाैं – नेपाली कांग्रेसको विशेष महाधिवेशन पार्टी एकताको सन्देश दिनु पर्ने बेला उल्टै नेतृत्वको अविश्वसनीयता र आन्तरिक संकटको ऐना बनेको छ। महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरू व्यापक असन्तुष्टि जनाउँदै धमाधम घर फर्कन थालेका छन्। यो दृश्य कांग्रेसका लागि सामान्य घटना होइन, गम्भीर राजनीतिक चेतावनी हो।
विशेष महाधिवेशनको नाममा फर्जी प्रतिनिधि खडा गरी संख्या बढाइएको, निष्ठावान प्रतिनिधिलाई पाखा लगाइएको र पार्टी फुटतर्फ उक्साउने खालका अभिव्यक्ति आएको आरोप प्रतिनिधिहरूले लगाएका छन्। यही कारण महाधिवेशन बहिष्कार गर्दै प्रतिनिधिहरू फर्कन थालेका हुन्।
एक महाधिवेशन प्रतिनिधिका अनुसार आफूसहित आफू बसेको स्थानका धेरै प्रतिनिधि घर फर्किसकेका छन्। ‘पार्टी फुटाउने कुनै पनि योजना असफल होस्,’ उनले भनिन्। यो भनाइ केवल व्यक्तिगत धारणा होइन, कांग्रेसभित्र उब्जिएको सामूहिक असन्तोषको आवाज हो।
दुई दिनका लागि भनिएको विशेष महाधिवेशन तीन दिन बितिसक्दा पनि निष्कर्षविहीन रहनु नेतृत्वको असक्षमताको प्रमाण हो। अझ गम्भीर कुरा के छ भने, महाधिवेशनको समय राजनीतिक निकास खोज्न होइन, टिकट बार्गेनिङ गर्न खर्चिएको आरोप खुलेआम लागिरहेको छ। महामन्त्री गगन थापा संस्थापक नेताहरूसँग मिलेर टिकट सौदाबाजीमा लागेको चर्चा व्यापक बनेपछि प्रतिनिधिहरू थप रुष्ट भएका छन्।
एक प्रतिनिधिको भनाइले अहिलेको अवस्था प्रस्ट पार्छ— ‘यो महाधिवेशन सुधारका लागि होइन, छलछाम र सौदाबाजीको निरन्तरता हो। त्यसैले बहिष्कार गरेर फर्कियौँ।’
कांग्रेस नेतृत्वले अब यथार्थ स्वीकार गर्नैपर्छ। महाधिवेशन कुनै गुटको शक्ति प्रदर्शन होइन, कार्यकर्ताको विश्वास नवीकरण गर्ने प्रक्रिया हो। फर्जी सूची, गुप्त सम्झौता र कुर्सीको लोभले पार्टी जोगिँदैन।
आज प्रतिनिधि फर्किरहेका छन्। भोलि कार्यकर्ता टाढा भए भने कांग्रेस इतिहासको जिम्मेवारी कसले लिने? विशेष महाधिवेशनले कांग्रेसलाई जोड्ने होइन, कमजोर बनाउने अध्याय नबनोस्— यही अहिलेको सबैभन्दा ठूलो प्रश्न हो।



कागजपत्र |
