भारतमा भएको सिलिन्डर विस्फोटमा ९ नेपालीको मृत्यु

मृतक सबै सल्यानको एउटै वडाका


सल्यान — भारतको हिमाञ्चल प्रदेशमा भएको ग्यास सिलिन्डर विस्फोटमा परी ९ जना नेपालीको मृत्यु भएकाे छ ।

भारतको हिमाचल प्रदेशको सोलान जिल्लाको अर्की भन्ने ठाउँमा भएको घटनामा नेपालको सल्यानको सिद्धकुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको छ ।

राति सुतेको समयमा अचानक पसलमा आगलागी भएको र पसलमा भएका सिलिन्डर विस्फोट भएको थियो ।

घटनामा वर्ष ३३ का धनबहादुर विक, उनकी श्रीमती वर्ष ३२ की कविता विक, छोरी राधा विक, रेनुका विक, छोरा राजन विक र वर्ष ४७ का काशिराम विक, वर्ष ३२ की टीका विक, वर्ष १२ की अनु विक र वर्ष ७ का किरण विकको मृत्यु भएको आफन्त प्रेम विकले बताए ।

उनले धनबहादुर विक र काशिराम विकका परिवार पसलदेखि माथिको कोठामा बस्दै आएका र कामबाट फर्केर सुतेको बेला २७ गते राति आगलागी भएको बताए । उनका अनुसार सिलिन्डर पड्किँदा मृत्यु भएका सबैको शव छियाछिया परेर चिन्न नसकिने अवस्थामा रहेको छ ।

आगलागी भएको थाहा पाएपछि नजिकैको अर्को घरमा सुतेका आफ्नोसहित राजेन्द्र विक, गंगाराम विक र अर्को एक जना गरी चारजनाको परिवार भागेर बच्न सफल भएको उनले जानकारी गराए । ‘अहिले हिमाचल प्रदेशको सोलान जिल्लाको सुरक्षाकर्मीको टोली शव संकलनमा लागेको छ । सिलिन्डर विस्फोटका कारण सबैको सब छियाछिया परेकाले संकलन गर्न कठिनाइ भएको छ,’ उनले भने ।

सिद्धकुमाख-२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीले प्रेम विकले फोन गरेपछि घटनाको बारेमा थाहा पाएको बताए । दुई परिवारका ९ जनाको मृत्यु भएपछि अहिले वडा पूरै शोकमा डुबेको र मंगलबार शोक बिदा दिने निर्णय गरेको उनले जानकारी गराए ।

9 people from Salyan, India, die in gas cylinder explosion following fire

प्रतिक्रिया