जेन–जी आन्दोलनका बेला फरार कैदी झोरबाट पक्राउ


काठमाडौं- जेन–जी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवलबाट फरार भएका एक कैदीलाई प्रहरीले काठमाडौँको झोर क्षेत्रबाट पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले फरार कैदी सिन्धुलीको तीनपाटन गाउँपालिका–६ घर भएका ५० वर्षीय गुञ्जबहादुर श्रेष्ठलाई आज पक्राउ गरेको हो।

कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय भोगिरहेका श्रेष्ठ २०७३ असार २९ देखि कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा थिए। जेन–जी आन्दोलनका बेला फरार भई काठमाडौँ उपत्यकामा लुकीछिपी बसेको भन्ने विशेष सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेपछि उनलाई पुनः कारागार कार्यालय जगन्नाथदेवलमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया