
तनहुँकाे कसेरीघाटमा तीनजनाको हत्या: अझै खुलेन दुई मृतकको पहिचान
पोखरा- तनहुँको शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारास्थित कसेरीघाटमा भएको तीनजनाको हत्या काण्ड रहस्यमय बन्दै गएको छ। मृतक तीनमध्ये दुईजनाको पहिचान अझै खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी टेकबहादुर कार्कीका अनुसार, मृतक मध्ये एक महिला र एक पुरुषको वास्तविक पहिचान पत्ता लागेको छैन। घटनास्थल तथा वरिपरि हालसम्म कुनै ‘क्लु’ फेला नपरेको उनले बताए।
शनिबार बिहान धारिलो हतियार प्रहार गरिएको अवस्थामा शवहरू फेला परेका थिए। दुई पुरुषको शव कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्रबाहिर भेटिएको थियो भने महिलाको शव खोजी गर्ने क्रममा त्यहाँबाट करिब ७ सय मिटर टाढा फेला परेको थियो।
तीन मृतकमध्ये एकजनाको पहिचान शनिबार नै खुलेको थियो। उनी शुक्लागण्डकी नगरपालिका–११, पाल्पालीछाप निवासी नारायण विक हुन्। उनी फोहोरमैला प्रशोधन केन्द्र सञ्चालन गर्ने ग्रिन रोड प्रालिका कर्मचारी रहेको प्रहरीले जनाएको छ। नारायणको पेट र घाँटीमा गहिरो चोट लागेको थियो।
फोहोरमैला प्रशोधन केन्द्रबाहिर टहरा बनाएर बस्दै आएका एक महिला र एक पुरुषको पहिचान अझै अज्ञात छ। ती पुरुषको पेटमा गहिरो चोट परेको छ भने महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो।
एसपी कार्कीका अनुसार, धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अनुमान गरिए पनि घटनास्थल वरिपरि कुनै हतियार फेला परेको छैन।
शनिबार दिनभर एसपी कार्की नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि परिचालन गरिएको छ। आइतबार डीआईजी दिनेशकुमार आचार्यले समेत घटनास्थलको निरीक्षण गरेका छन्।
तीनै मृतकको शव हाल प्रादेशिक अस्पताल दमौलीमा राखिएको छ। नारायणको शवको पोस्टमार्टम भने परिवारको जाहेरी पाएपछि सुरु गरिएको प्रहरीले जनाएको छ।



कागजपत्र |
