
सुरु भयो नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन
काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको संयुक्त उद्घाटनमा शुरू भएको हो। उद्घाटन सत्रमा गगनले पानसमा बत्ती बालेर र विश्वप्रकाशले रुखमा जल हालेर महाधिवेशनको औपचारिक सुरुवात गरेका थिए। उद्घाटनको लागि भृकुटीमण्डपको खुला चौरमा मञ्च निर्माण गरिएको थियो भने उद्घाटन सत्र पछि बन्दसत्र सभाहलमा सञ्चालन हुने तय भएको छ।
महाधिवेशनमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ लगायतका वरिष्ठ नेता सहभागी भएका छन्। महामन्त्री थापाले गोपालमान श्रेष्ठलाई मञ्चमा स्वागत गरेका थिए। उद्घाटन समारोहमा पूर्वसभामुख तारानाथ रानाभाट, केन्द्रीय सदस्य महेश आचार्य, भरत साह, चन्द्र भण्डारी लगायत सहभागी रहेका छन्।
पार्टीमा मध्यमार्गी भूमिका खेलेका २५ मध्ये २० केन्द्रीय सदस्य विशेष महाधिवेशनमा उपस्थित छन्। त्यस्तै, संस्थापन समूहका डिला संग्रौला, पुष्पा भुसाल, राजन केसी, उदय शमशेर राणा, देवेन्द्रराज कँडेल पनि सहभागी भएका छन्। डा. शेखर कोइरालाको पक्षबाट कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की उपस्थित छन्।
महाधिवेशनको नाम दर्ता प्रक्रिया बिहानदेखि सुरु भएको थियो। पार्टीको संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा नेतृत्व) ले यस महाधिवेशनलाई औपचारिक मान्यता दिएको छैन। संस्थापन पक्षले नियमित १५औँ महाधिवेशनको कार्यतालिका तय भइसकेको र विशेष महाधिवेशनको औचित्य नहुने धारणा राख्दै आएको छ।



कागजपत्र |
