दोषीलाई कारबाही गर्ने सहमतिसँगै ठप्प भएको डडेल्धुरा अस्पतालको सेवा पुनः सुचारु


डडेल्धुरा – डडेल्धुरा अस्पतालका अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझा माथि केही व्यक्तिहरूद्वारा भएको दुर्व्यवहारपछि बन्द भएको अस्पतालको स्वास्थ्य सेवा पुनः सुचारु गर्ने निर्णय भएको छ। आज बसेको सरोकारवालाहरुको बैठकले याे निर्णय गरेकाे हाे। यसअघि अस्पतालले आकस्मिक सेवा बाहेक सबै सेवा रोक्ने निर्णय गरेको थियो।

बैठकमा जिल्ला समन्वय समिति प्रमुख गगन सिंह भण्डारी, अमरगढी नगर प्रमुख डिल्ली राज जेशी, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला, अस्पतालकी मे.सु. सुधा देवकोटा, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि लगायत सहभागी थिए।

बैठकमा  दुर्व्यवहारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिने निर्णय भएको छ। साथै, आगामी दिनमा यस्ता घटनाहरू नदोहोरियोस् भन्नका लागि सुरक्षा सतर्कता अपनाउने र शंकास्पद गतिविधिबारे स्थानीय प्रशासनलाई जानकारी गराउने निर्णय समेत गरिएको छ।

अस्पताल प्रशासनले बिरामी र सेवाग्राहीको अवस्था ध्यानमा राख्दै, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरूको मनोबल उच्च राख्दै आज अपरान्ह २ बजेबाट सेवा पुनः सुरु गरिने जनाएकाे छ।

प्रतिक्रिया