पार्टी विवाद अन्त्यका लागि शेखर कोइरालाको देउवासँग आग्रह


काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र चर्किँदै गएको विवाद अन्त्य गर्न सभापति शेरबहादुर देउवासँग पहल गर्न आग्रह गरेका छन्। कोइराला आज बिहान सभापति देउवा निवास महाराजगञ्ज पुगेर भेटवार्ता गरेका हुन्।

भेटका क्रममा कोइरालाले पार्टीभित्र विभाजनको खतरा देखिएको भन्दै समयमै निकास निकाल्न सभापतिले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन्। पार्टी स्रोतका अनुसार उनले कांग्रेसलाई एकताबद्ध राख्न देउवाले लचकता देखाउनुपर्नेमा जोड दिएका थिए।

कोइरालाले पार्टीभित्र को नेता बन्ने भन्ने विषयभन्दा पनि पार्टीको एकता अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको स्पष्ट पारेका थिए। उनले आन्तरिक विवादलाई सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने सुझावसमेत देउवालाई दिएका स्रोतको भनाइ छ।

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयलाई लिएर मतभेद चर्किँदै गएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरिरहेका छन् भने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विधानअनुसार विशेष महाधिवेशन आह्वान नभएको भन्दै नेता तथा कार्यकर्तालाई त्यसमा सहभागी नहुन आग्रह गरेका छन्।

प्रतिक्रिया