सर्वपक्षीय सहमतिपछि वीरगञ्जमा कर्फ्यु हट्यो, प्रदर्शन नगर्ने निर्णय


वीरगञ्ज-  सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको विरोध प्रदर्शन अब नगर्ने सहमति जुटाएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा मंगलबार बसेको बैठकले सहमति गरेसँगै सोमबारदेखि लागू गरिएको कर्फ्यु पनि आज दिउँसोदेखि हटाइएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार अन्य मुलुक वा स्थानमा घटेका घटनालाई लिएर वीरगञ्जमा प्रदर्शन तथा आन्दोलन नगर्ने प्रतिबद्धता जनाएपछि कर्फ्यु हटाउने निर्णय गरिएको हो। उनले दुई समुदायबीच सहमति बनेको र शान्ति–सुरक्षाको अवस्था सहज बन्दै गएपछि जनजीवन सामान्यतर्फ फर्कँदै गएको बताए।

बैठकले भविष्यमा विरोध प्रदर्शन गर्नुपरेमा अनिवार्य रूपमा प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिनुपर्ने र ज्ञापनपत्र पेस गरेपछि मात्र आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। साथै धार्मिक, सामाजिक तथा सद्भावविरुद्धका गतिविधि नियन्त्रण गर्न र आवश्यक कानुनी कारबाही सिफारिसका लागि जिल्लास्थित राजनीतिक दल तथा विभिन्न धार्मिक समुदायका अगुवाहरू सम्मिलित स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय पनि भएको छ।

प्रजिअ दाहालका अनुसार उक्त संयन्त्रमा हिन्दू समुदायका तर्फबाट रञ्जित साह र रञ्जन सिंह रहनेछन् भने मुस्लिम समुदायका तर्फबाट महमद महबुब अलि (शेरु) र अलि असगर मदनी रहनेछन्। आवश्यकताअनुसार अन्य धार्मिक समुदाय तथा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि पनि संयन्त्रमा समेटिनेछन्।

यस्तै, संयन्त्रमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष तथा नागरिक समाजका प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ। बैठकले सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गर्दा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावमा असर नपर्ने गरी जिम्मेवार पत्रकारिता गर्न अनुरोध गरेको छ।

धार्मिक तथा सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह वा गतिविधिमाथि कानुनी कारबाही गर्न स्थानीय प्रशासन सक्रिय रहने र सबै पक्षले आत्मसंयम, अनुशासन तथा आपसी सद्भाव कायम राख्न प्रतिबद्धता जनाउने निर्णय पनि बैठकले गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया