
सरकारी सेवामा हुलाक टिकट टाँस्नुपर्ने झन्झट हट्यो
काठमाडौं- सरकारी सेवा लिन अब आम नागरिकले निवेदन वा कागजातमा हुलाक टिकट टाँस्नुपर्ने छैन।
अर्थ मन्त्रालयले दशकौं पुरानो झन्झटिलो व्यवस्थालाई हटाउने निर्णय गरेको हो। मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा सार्वजनिक सेवा प्रवाहका क्रममा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास हटाइएको जानकारी दिइएको छ।
मन्त्रालयका अनुसार गत मंसिर २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रचलित कानुनमा किटानी व्यवस्था बाहेक अन्य सबै सेवा प्रवाहका प्रक्रियामा हुलाक टिकट टाँस्ने प्रचलन हटाउने निर्णय गरेको थियो। सो निर्णय कार्यान्वयन गर्न मन्त्रालयले आफ्ना मातहतका सबै निकाय, विभाग र कार्यालयलाई निर्देशन दिइसकेको छ।
सूचनामा भनिएको छ, ‘प्रचलित कानुनमा किटानी व्यवस्था बाहेक कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन र अभ्यास हटाइएको जानकारी सम्बन्धित सबैका लागि प्रकाशित गरिएको हो।’
यसअघि नागरिकहरूले सरकारी कार्यालयमा निवेदन दिन वा विभिन्न सिफारिस लिँदा न्यूनतम ५ वा १० रुपैयाँको हुलाक टिकट अनिवार्य टाँस्नुपर्ने व्यवस्था थियो। कतिपय अवस्थामा कार्यालय वरपर टिकट नपाउँदा सेवाग्राहीले असुविधा भोग्नुपर्ने अवस्था पनि सिर्जना भएको थियो।
सरकारको यो निर्णयसँगै अब सार्वजनिक सेवा प्रवाह थप सरल र सहज हुने अपेक्षा गरिएको छ। तर कुनै विशेष ऐन वा कानुनले टिकट टाँस्नुपर्ने स्पष्ट व्यवस्था गरेको ठाउँमा भने यो नियम लागू नहुने मन्त्रालयले स्पष्ट पारेको छ।



कागजपत्र |
