
कांग्रेस-एमाले नजिकिएपछि निर्वाचन सार्ने षड्यन्त्र हुँदैछ : केपी ओली
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। मंगलबार बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले हालसम्म तत्काल निर्वाचनको वातावरण तयार नबन्नुलाई चुनौतीपूर्ण भएको धारणा राखे।
उनले एमाले र कांग्रेस नजिकिँदा सरकार र केही विदेशी शक्तिहरूले निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको बताए। यस प्रक्रियामा सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि दबाब र धम्की दिइँदै संसद् पुनःस्थापना हुन नदिने प्रयास भइरहेको भन्दै उनले यसले लोकतान्त्रिक मूल्य-मान्यतामाथि गम्भीर प्रश्न उठाएको बताए।
अध्यक्ष ओलीले नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने काम थप चुनौतीपूर्ण बनेको र वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको दाबी गरे। यस्तो परिस्थितिमा पार्टीले आन्दोलनलाई जुझारु र सशक्त रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै प्रत्येक तहमा युवाहरूको सक्रिय परिचालन आवश्यक भएको उनको भनाइ थियो। उनले टोल–टोलमा ‘नेसनल युथ भोलिन्टियर्स फोर्स’ गठन गर्दै निर्वाचनको तयारी आन्दोलनकै मैदानबाट सुरु गर्नुपर्ने स्पष्ट धारणा राखे।
अध्यक्ष ओलीले कतिपय व्यक्तिहरू नियतवश विनाशकारी भूमिकामा उत्रिएको तथा केही स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएको आरोप लगाए। साथै, विकासको नाममा विदेशी एजेन्डा बोकेर राष्ट्रवादी शक्तिलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको भन्दै दाग लागेका र अक्षम व्यक्तिहरूलाई योजनाबद्ध रूपमा एकत्रित गरिएको टिप्पणी गरे।
तर नेपाली जनताको देशभक्ति र राष्ट्रियताको भावना बलियो भएकै कारण, बंगलादेशमा भदौ २३–२४ गते भएका घटनालाई नेपालमा ‘महान उपलब्धि’ भनेर दाबी गर्ने साहस उनीहरूले गर्न नसकेको ओलीको भनाइ थियो। उनले अन्ततः देश ध्वस्त बनाउने कामको जिम्मेवारी ती विदेशी र स्वार्थी शक्तिहरूले नै लिनुपर्ने अवस्थामा आएको बताए।



कागजपत्र |
