
वीरगञ्ज फेरि तनावग्रस्त
वीरगञ्ज- वीरगञ्ज महानगरपालिका क्षेत्रमा सोमबार बिहानैदेखि तनाव बढेको छ। विभिन्न हिन्दुवादी सङ्गठनहरूले विरोध प्रदर्शन सुरु गरेपछि शहरको अवस्था तनावपूर्ण बनेको हो।
धनुषामा भएको मस्जिद तोडफोडको घटनापछि आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेको थियो। यसप्रति प्रतिक्रिया स्वरूप, हिन्दुवादी सङ्गठनहरूले सोमबार बिहानै विरोध प्रदर्शन सुरु गरेका हुन्। उनीहरूले हिन्दु देवीदेवतामाथि अभद्र टिप्पणी गर्ने वा अफवाह फैलाउनेहरू विरुद्ध कडा कारबाहीको माग गरेका छन्।
पर्सा प्रहरीले जनाएको छ कि वीरगञ्जमा दुवै समुदाय—मुस्लिम र हिन्दु—एकअर्काविरुद्ध प्रदर्शनमा उत्रिएका छन्। आमुन्नेसामुन्ने प्रदर्शनले सम्भावित झडपको जोखिम बढाएपछि सुरक्षा कडा पारिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजु कार्कीका अनुसार, मकालु चोकबाट मुस्लिम बस्ती छपकैयातर्फ जान रोक लगाइएको छ भने छपकैयाबाट मुख्य बजारतर्फ आउन पनि प्रतिबन्ध लगाइएको छ।
प्रदर्शन उग्र बन्न नदिन र स्थिति सामान्य बनाउन जिल्ला प्रशासन कार्यालय पर्साले पहल सुरु गरेको छ। प्रशासनले हिन्दुवादी सङ्गठनका प्रतिनिधिसँग छलफल गर्दै निकास खोज्ने प्रयास गरिरहेको जनाएको छ।



कागजपत्र |
