मुख्यमन्त्री बानियाँको हेलिकप्टर यात्रा निजी खर्चमा भएको हाे : सचिवालय


हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सचिवालयले बिहीबार सिराहा भ्रमणका क्रममा प्रयोग गरिएको हेलिकप्टरमा कुनै पनि सरकारी कोषको दुरुपयोग नभएको स्पष्ट पारेको छ।

मुख्यमन्त्रीले सरकारी खर्चमै हेलिकप्टर प्रयोग गरेको आरोपसहित सामाजिक सञ्जालमा आलोचना भएपछि सचिवालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त यात्रा पूर्ण रूपमा निजी खर्चमा गरिएको दाबी गरेको हो।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव मिलन पुडासैनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बिहीबारको यात्राका क्रममा कुनै पनि सरकारी कोषको दुरुपयोग नभएको स्पष्ट पार्न चाहन्छौँ।”

सचिवालयका अनुसार मुख्यमन्त्री बानियाँ बिहीबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ स्थित गुफा डाँडामा आयोजित छैटौँ जलवायु सम्मेलनमा सहभागी भएका थिए। सोही दिन सिराहामा कांग्रेस सिराहाका सभापति रामचन्द्र यादवद्वारा आयोजित कार्यक्रममा मधेस र बागमती प्रदेशका पार्टी सभापतिहरूलाई आमन्त्रण गरिएको थियो।

बागमती प्रदेश कांग्रेस सभापतिसमेत रहेका मुख्यमन्त्री बानियाँलाई एकै दिन दुई फरक स्थानमा पुग्नुपर्ने बाध्यता रहेको र सडक मार्गबाट समयमै पुग्न असम्भव भएपछि निजी खर्चमै हेलिकप्टर प्रयोग गरिएको सचिवालयको स्पष्टिकरण छ।

विज्ञप्तिमा मुख्यमन्त्री बानियाँले पदभार ग्रहण गरेदेखि नै खर्च कटौती र मितव्ययिता अपनाउँदै आएको पनि उल्लेख गरिएको छ। ‘मुख्यमन्त्रीज्यूले आफ्नो सरकारी निवासको खर्चदेखि प्रयोग गर्ने सवारी साधनको इन्धनसमेत निजी खर्चमा गर्दै आउनुभएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सचिवालयले हालसम्म कुनै पनि भ्रमण भत्ता नलिई काम गरिरहेको छ।’

सुविधाबापत प्राप्त हुने रकमबाट विपन्न परिवारको घर निर्माण गरिदिने घोषणाअनुसार मनहरी र कैलाश गाउँपालिकामा दुई विपन्न परिवारका घर निर्माण गरी हस्तान्तरण गरिसकिएको र राक्सिराङ गाउँपालिकामा थप एक घर निर्माणाधीन रहेको तथ्य पनि सचिवालयले सार्वजनिक गरेको छ।

मुख्यमन्त्रीले गरेका सकारात्मक कामलाई ओझेलमा पार्ने र चरित्र हत्या गर्ने उद्देश्यले केही व्यक्ति तथा समूहले सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै सचिवालयले त्यसप्रति आपत्ति जनाएको छ।

प्रतिक्रिया