
स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन
वालिङ (स्याङ्जा) – स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकेजी रु ५७ का दरले बिक्री भएको छ ।
गत वर्षको तुलनामा यस वर्ष रु २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो । गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष गत वर्षको तुलनामा उत्पादकत्वसमेत बढेको छ । यस वर्ष १६.३७ टन प्रतिहेक्टर उत्पादन भएको छभने गत वर्ष १४.६६ टन प्रतिहेक्टर उत्पादन भएको थियो ।
स्याङ्जा जिल्लामा उत्पादन भएको कुल परिमाणको सुन्तलामध्ये ९० प्रतिशत बिक्री हुने गरेको छभने बाँकी रहेको १० प्रतिशत सुन्तला कोसेली, उपहार तथा घरघरमै खपत हुने गरेको उनले बताए । यस वर्ष उत्पादन भएकामध्ये २० हजार ८८२ मेट्रिक टन बिक्री योग्य परिमाणको सुन्तला हो ।
स्याङ्जामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला बगैँचाले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ । गत वर्ष दुई हजार २५० हेक्टर क्षेत्रफलमा रहेको सुन्तला बगैँचा यस वर्ष एक सय ५० हेक्टर क्षेत्रफल वृद्धि भई दुई हजार ४०० हेक्टर पुगेको उनले जानकारी दिए ।
जिल्लाको पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, विरुवा, अर्जुनचौपारी गाउँपालिका सुन्तला उत्पादनको मुख्य पकेट क्षेत्र हुन् ।



कागजपत्र |
