
‘डिभोर्स’ हुँदा दुखी छन् प्रचण्ड
काठमाडौं– ‘माधव जी र हाम्रो राम्रै लभ परेको थियो। दुलाहा दुलहीको जस्तो प्रेम थियो। तर, अदालतले डिभोर्स गरिदियो, त्यहिँ नेर दुख लागेको छ’, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार भने,‘यो सेटिङमा गरिएको अनैतिक र अप्राकृतिक फैसला थियो, मैले त्यसै भन्दै आएको छु।’
तत्कालिन नेपाल कम्युनिस्ट पार्टीबाट एमाले र माओवादी केन्द्र छुट्याउने अदालतको फैसलाप्रति प्रचण्ड बारम्बार आक्रोशित बन्ने गरेका छन्। त्यसलाई तर्कपूर्ण हिसाबले अनैतिक भनेका उनले एमाले नेता माधवकुमार नेपाललगायतको पक्ष र आफू मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीका विभिन्न कदमलाई ध्वस्त पारेको पनि स्मरण गर्दै आएका छन्।
यसै क्रममा उनले नेकपा हुँदा ओलीविरुद्ध सचिवालय र स्थायी समितिमा पेस गरेको १९ बुँदे प्रतिवेदनको पनि बचाऊ गर्दै आइरहेका छन्। उनले भन्ने गरेका छन्,‘बमबार्ड द बुर्जुवा हेडक्वार्टर भन्ने माओको भनाईअनुसार नै ओलीविरुद्ध त्यो प्रतिवेदन हमला थियो।’
यावत परिघटना भन्दा पनि उनलाई नेपाललगायतको एमालेको ठूलो हिस्सासँग छुट्टिनु परेको पीडा हरेक ठाउँमा पोख्दै आएका छन्। एक नेता भन्छन्,‘नेकपा बनाएर माओवादीको गुमिसकेको जनाधारले त्राण पाएको थियो त्यसमा पनि कब्जा गर्न लागेका थिए। तर असफल भएपछि प्रचण्डले यहि भाषा बोलिरहेका छन्।’
नेकपामा समानान्तर कमिटी गठन गर्दै नेपाल पक्ष अघि बढे पनि एमाले मिल्न सक्ने र माओवादीको आधार भत्किन सक्ने संकोच प्रचण्डमा रहेको बताइन्छ।
‘माओवादीमा रहेका कतिपय नेताहरूले साथ छाडेका छन्। त्यो पनि क्षति भयो भन्ने लागेको छ। अर्कोचाहिँ एमाले मिल्यो भने आफूलाई घाटा लाग्छ भन्ने प्रचण्डले बुझेका छन्’, ति नेता भन्छन्,‘ठूलो प्रयोग र प्रहार गरेका थिए अहिले जता ततै समस्या देखेपछि डिभोर्स भयो दुखी भएको छु भनी कुर्लिएका छन्।’



कागजपत्र |
