भारतीयको मुटु नेपाली युवतीमा


कोच्ची (भारत)- भारतको केरलास्थित एर्नाकुलम जनरल अस्पतालमा सोमबार गरिएको मुटु प्रत्यारोपण शल्यक्रिया सफल भएको छ। शल्यक्रियापछि ती नेपाली बिरामीको अवस्था स्थिर रहेको र हाल उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका अनुसार बिरामीलाई आगामी ४८ देखि ७२ घण्टासम्म कडा निगरानीमा राखिनेछ। करिब चार घण्टा लामो उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो।

यस ऐतिहासिक शल्यक्रियासँगै एर्नाकुलम जनरल अस्पताल भारतको पहिलो जिल्ला अस्पताल बनेको छ, जहाँ मुटु प्रत्यारोपण सफलतापूर्वक गरिएको छ। अस्पताल प्रशासनका अनुसार यो प्रत्यारोपण न्यायिक हस्तक्षेपपछि सम्भव भएको हो।

प्रत्यारोपण गरिएकी २२ वर्षीया कामी (अर्पणा) एक अनाथ युवती हुन्, जो करिब एक वर्षदेखि भारतमा मुटुरोगको उपचार गराइरहेकी थिइन्। उनको अवस्था ज्यान जोखिममा पर्ने खालको भएकाले उनलाई ‘सुपर अर्जेन्ट’ मुटु प्रत्यारोपण सूचीमा राखिएको थियो। तर भारतीय कानुनअनुसार मुटु प्रत्यारोपणका लागि दाताको मुटु वितरण गर्दा भारतीय नागरिकलाई प्राथमिकता दिनुपर्ने प्रावधानले प्रारम्भमा समस्या सिर्जना गरेको चिकित्सकहरूले बताएका छन्।

कामीलाई प्रत्यारोपण गरिएको मुटु ४६ वर्षीय एस. शिबुको हो। कोल्लम निवासी शिबु सवारी दुर्घटनापछि थिरुवनन्तपुरमस्थित सरकारी मेडिकल कलेज अस्पतालमा उपचाररत रहँदा ब्रेन–डेड घोषित भएका थिए।

जनरल अस्पतालका डा. जर्ज भलुरान, डा. पल थोमस र डा. जियो पलसहित आठ सदस्यीय चिकित्सक टोली सोमबार बिहान थिरुवनन्तपुरम पुगेको थियो। शल्यक्रिया बिहान ११ बजे सुरु भई विभिन्न अंगहरू निकाल्नुपर्ने भएकाले दिउँसो १ बजेपछि पनि जारी रहेको थियो।

अस्पताल स्रोतका अनुसार शिबुको मुटु हेलिकप्टरमार्फत कोच्ची ल्याई दिउँसो करिब ३:१५ बजे जनरल अस्पतालको अपरेशन थियटरमा पुर्‍याइएको थियो।

मुटु प्रत्यारोपणको तयारीका लागि कामीलाई आइतबार राति (डिसेम्बर २१) अस्पताल भर्ना गरिएको थियो। दाता र प्राप्तकर्ताबीच रक्त समूह तथा एचएलए मिलान सफल भएपछि चिकित्सकहरू मुटु प्रत्यारोपणका लागि आशावादी बनेका थिए।

शिबु विगत सात दिनदेखि भेन्टिलेटरमा रहेका थिए। उनका मुटु, दुईवटा मिर्गौला, कर्निया, कलेजो र छाला विभिन्न बिरामीमा प्रत्यारोपण गरिने जनरल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शाहिरशाले जानकारी दिए।

अस्पताल स्रोतका अनुसार शिबुको छाला र एक मिर्गौला थिरुवनन्तपुरमस्थित सरकारी मेडिकल कलेजमा, अर्को मिर्गौला कोल्लमको ट्राभानकोर मेडिकल कलेजमा, कर्निया क्षेत्रीय नेत्र विज्ञान संस्थान थिरुवनन्तपुरममा र कलेजो एक निजी अस्पतालमा प्रत्यारोपण गरिनेछ।

प्रतिक्रिया