देशका चर्चित मान्छेहरू नशामा भेटिन्छन्, हाम्रा युवा सुरक्षित : ओली


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका युवा सदस्यहरूमा कुनै पनि प्रकारको दुर्व्यसन नभएको दाबी गरेका छन्। हालै सम्पन्न महाधिवेशनका स्वयंसेवकहरूको प्रशंसा गर्दै ओलीले खटिएका युवा कार्यकर्ताहरूमा नशा वा खैनीको प्रयोग भेटिएको छैन भनेका छन्।

अध्यक्ष ओलीले महाधिवेशनमा स्वयंसेवकको रूपमा खटिएका सबैलाई धन्यवाद दिँदै भने, “यसपटक महाधिवेशनमा कुनै स्वयंसेवकको छेउमा पनि खैनी गन्हाएको भेटिएन। खैनी भनेको ओठमा एउटा कुनामा च्यापिएको भए पनि त्यसको गन्ध पर-पर महसुस हुन्छ। हाम्रो पार्टीका युवाहरूमा कुनै पनि दुर्व्यसनी देखिएन।”

ओलीले देशका केही चर्चित व्यक्तिहरू नशामा भेटिने गरेको पनि टिप्पणी गरेका छन्। उनले भने, “देशका चर्चित भनिएका मान्छेहरू नशामा भेटिन्छन्। हाम्रा युवाहरूमा त्यस प्रकारको दुर्व्यसन देखिएन। यदि मेरो भनाइ मन नपरेर दुर्व्यसनीमा रहेकाहरूले छोड्नुभयो भने म धेरै खुसी हुनेछु।”

 

प्रतिक्रिया