निर्वाचन सुरक्षाका लागि केन्द्रदेखि जिल्लासम्म निर्वाचन सेल गठन


काठमाडौं-  सशस्त्र प्रहरी बल नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकायसँग घनिष्ठ समन्वयमा व्यापक सुरक्षा परिचालन गर्ने तयारी गरेको छ।

आम निर्वाचनलाई सफल बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुरुप सुरक्षाकर्मी परिचालनका लागि सम्भावित जोखिमदेखि आवश्यक स्रोत–साधनसम्मको विस्तृत गृहकार्य पूरा भएको सशस्त्र प्रहरीको भनाइ छ।

यसै उद्देश्यका लागि बलले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालन नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याइसकेको प्रवक्ता तथा नायब महानिरीक्षक मनिष थापाले जानकारी दिए।

हल्चोकस्थित प्रधान कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता थापाले निर्वाचन क्षेत्रहरूलाई सुरक्षा जोखिमका आधारमा अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको जानकारी दिए। उनका अनुसार सशस्त्र प्रहरी निर्वाचन सुरक्षामा दोस्रो घेराको जिम्मेवारी सम्हाल्दै अन्य सुरक्षा निकायसँग समन्वयमा परिचालन हुनेछ।

निर्वाचन सुरक्षाको प्रभावकारी व्यवस्थापनका लागि सशस्त्र प्रहरीले केन्द्रदेखि जिल्लासम्म निर्वाचन सेल गठन गर्ने भएको छ। मुख्यालयमा केन्द्रीय निर्वाचन सेल, बाहिनीमा बाहिनी निर्वाचन सेल तथा गण–गुल्ममा स्थानीय निर्वाचन सेल संचालन गरिने छ।

सुरक्षाकर्मीलाई मोबाइल, स्ट्राइकिङ, क्युआरटी, सुरक्षा बेस, कमाण्ड पोष्ट, संयुक्त निर्वाचन परिचालन केन्द्र, जिल्ला तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयलगायत स्थानमा आवश्यक बन्दोबस्ती सहित तैनाथ गरिने नीति छ।

त्यसैगरी, निर्वाचन विरोधी गतिविधि नियन्त्रण तथा आपराधिक घटनामा छिटो कारबाहीका लागि सूचना आदानप्रदानलाई अझ सशक्त बनाइने, सीमा क्षेत्रमा समकक्षी निकायसँग सहकार्य गर्दै प्रभावकारी सुरक्षा परिचालन गरिने सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया