
क्यानका निलम्बित महानिर्देशक अधिकारीसँग ५ लाख धरौटी माग, तर रिहा नहुने
काठमाडाैं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको आरोपमा दायर मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ।
मंगलबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले अधिकारीलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
त्यस्तै, सोही मुद्दामा तत्कालीन निर्देशक मुरारी भण्डारीसँग एक लाख रुपैयाँ धरौटी माग गरिएको अदालतले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २१ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको भन्दै ५५ जना व्यक्ति र एक कम्पनीसहित ५६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। महानिर्देशक अधिकारी पनि प्रतिवादीका रूपमा सोही मुद्दामा समावेश गरिएका थिए।
यसअघि, प्राधिकरणका महानिर्देशक अधिकारीलाई भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा अनियमितता गरेको आरोपमा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सोही आदेशको आधारमा उनी थुनामै हुनेछन् ।



कागजपत्र |
