टीओबीका तेन्जीन दावालाई धरौटीमा रिहा गर्न आदेश


काठमाडौं-  काठमाडौं जिल्ला अदालतले तिब्बतीयन ओरिजिनल ब्लड (टीओबी)का तेन्जीन दावा लामालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

दावा विरुद्ध लिखतसम्बन्धी कसुर र लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो। अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले आरोपित दुवै कसुरमा धरौटीमानै छाड्ने आदेश दिएको हो।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार लिखतसम्बन्धी कसुरमा पाँच लाख रुपैयाँ धरौटी तोकिएको छ। त्यस्तै लागुऔषधसम्बन्धी कसुरमा २० हजार रुपैयाँ धरौटी मागिएको थियो।

जेनजी आन्दोलनपछि हतियार देखाउँदै गरेको दावाको भिडियो भाइरल भएपछि उनी स्वयम् प्रहरी सम्पर्कमा पुगेका थिए। अभद्र व्यवहारको कसुरमा पक्राउ परेका दावामाथि नागरिकता सम्बन्धी अनुसन्धान पनि अघि बढाइएको थियो। नागरिकतामा कैफियत देखिएपछि थप छानबिन गरी नागरिकतासम्बन्धी कसुरमा समेत मुद्दा दर्ता गरिएको थियो।

अनुसन्धान सकिएपछि प्रहरीको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइएको थियो। त्यसपछि सरकारी वकिलले मुद्दा अदालतमा दर्ता गरेको हो। थुनछेक बहसपछि अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

प्रतिक्रिया