गोवाको नाइट क्लबमा आगलागी: ४ नेपालीको मृत्यु


काठमाडाैं-  भारतको गोवा राज्यस्थित अरपोरा क्षेत्रमा शनिबार मध्यरात भएको भीषण आगलागीले कम्तीमा २५ जनाको ज्यान गएको छ, जसमा चार नेपालीको समेत मृत्यु भएको खुलेको छ। अन्य ६ जना घाइते छन्।

गोवा सरकारले सार्वजनिक गरेको सूचनाअनुसार मृतकमध्ये २० जना नाइट क्लबका कर्मचारी थिए।  तीमध्ये चारजना नेपालका नागरिक हुन्। हिन्दुस्तान टाइम्स का अनुसार निधन भएकामध्ये चुर्णबहादुर पुन, विवेक कटवाल, सविन र सुदीप नाम गरेका नेपाली छन्। उनीहरू नेपालका भएको पुष्टि भए पनि ठेगाना भने खुलाइएको छैन। गोवा सरकारले शव नेपालसम्म पठाउने प्रक्रिया अघि बढाउने जनाएको छ।

अधिकारीहरूका अनुसार मध्यराततिर नाचगान चलिरहेको बेला इलेक्ट्रोनिक फायरक्राकरबाट अचानक आगो लागेको थियो। साँघुरा बाटोका कारण दमकल समयमै प्रवेश गर्न नसक्दा आगो बन्दै–बन्दै भयावह भएको जनाएको छ।

क्लबभित्र रहेका धेरैजसो मानिस भुइँतलामा र भान्सातर्फै थुनिँदा ज्यान गुमाएका हुन्। केहीको जलेर र केहीको धुँवामा निसासिएर मृत्यु भएको प्रारम्भिक तथ्याङ्कले देखाएको छ।

प्रारम्भिक अनुसन्धानमा सो नाइट क्लबले आवश्यक सुरक्षा मापदण्डहरू पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको पुष्टि भएको छ। घटनापछि गोवा प्रहरीले क्लबका महाप्रबन्धकसहित चार जनालाई पक्राउ गरेको छ। यद्यपि, मालिक सौरभ लुथरा र गौरव लुथरा फरार रहेको र उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको छ। साथै, नियमविपरीत क्लब सञ्चालन अनुमति दिएको आरोपमा गोवा सरकारका तीन वरिष्ठ अधिकारी पनि निलम्बनमा परेका छन्।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई ५ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

प्रतिक्रिया