निर्वाचनमा उम्मेदवार बन्नकै लागि मन्त्री नछाड्ने घिसिङको घोषणा


काठमाडाैं — शहरी विकास, ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले आगामी निर्वाचनमा आफू उम्मेदवार बन्ने घोषणा गरेका छन् । मोरङको बेलबारीमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले राजनीतिमा आइसकेपछि चुनाव लड्नु स्वभाविक भएको बताएका हुन् ।

मन्त्री पद त्यागेर चुनाव लड्ने हो कि पदमै रहेर ?’ भनी सोधिएको प्रश्नको जवाफ दिँदै मन्त्री घिसिङले राजीनामा नदिई चुनाव लड्ने बताए । उनले विगतका अभ्यासहरूको उदाहरण दिँदै भने, ‘आजसम्म देशमा कतिवटा अन्तरिम सरकार आए ? के ती अन्तरिम सरकारका प्रधानमन्त्रीले चुनाव लड्दा राजीनामा दिएका थिए ? आजसम्म कुनै चुनावी सरकारले चुनाव लड्दा पद छोडेको छ र ? हामी पनि त्यहीअनुसार व्यवस्थापन गरेर अगाडि बढ्छौँ।’

घिसिङले आगामी फागुन २१ गते चुनाव हुने दाबी गर्दै त्यसका लागि सरकार तयार रहेको बताए । ‘हामीसँग बजेटको समस्या छैन, चुनाव गराउन कुनै आर्थिक संकट छैन। यो सरकारको मुख्य भूमिका नै फागुन २१ को चुनाव सम्पन्न गरेर देशलाई स्थायित्व दिनु हो,’ उनले भने ।

नयाँ राजनीतिक शक्तिहरू रवि लामिछाने र बालेन शाहसँगको एकताको विषयमा सोधिएको प्रश्नमा घिसिङले देश बनाउन चाहने सबै नयाँ र वैकल्पिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए। ‘अहिले सबै व्यक्तित्व, समूह र नयाँ फोर्सहरू जो देश बनाउँछु भनेर आउनुभएको छ, सबैको एकता हुनुपर्छ,’ घिसिङले भने, ‘नेतृत्व कसले गर्ने भन्नेमा अल्झिनु हुँदैन, एक भएर अगाडि बढ्नुपर्छ।’

मन्त्री घिसिङले पूर्व–पश्चिम राजमार्ग र रेलवे जस्ता ‘लाइफलाइन’परियोजनाहरूलाई दीर्घकालीन रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले उर्लाबारी र बेलबारी क्षेत्रका रोकिएका योजनाहरूलाई तत्काल कार्यान्वयनमा लैजाने आश्वासन समेत दिए । ‘उज्यालो नेपाल भनेको बत्तीको उज्यालो मात्र होइन,’ उनले भने, ‘समग्र क्षेत्रमा सुशासन, सामाजिक न्याय हो ।’

प्रतिक्रिया