दृष्टिविहिन महिला टी–२० विश्वकपमा नेपाल उपविजेता


काठमाडाैं-  दृष्टिविहिन महिला टी–२० क्रिकेट विश्वकपको पहिलो संस्करणको फाइनलमा भारतले नेपाललाई ७ विकेटले पराजित गर्दै उपाधि आफ्नो नाममा पारेको छ। यससँगै नेपाल उपविजेता बनेको छ।

फाइनल खेलमा भारतले टस जितेर नेपाललाई पहिले ब्याटिङ गर्न दिएको थियो। नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो। पारीको सुरुवातमै कप्तान विनिता पुन ४ रनमा रनआउट भइन् भने मनकेसी चौधरी ८ रनमा आउट भइन्। विमला राई र सरिता घिमिरेले ६१ रनको साझेदारी गरे तापनि नेपालले निर्धारित लक्ष्य पुरा गर्न सकेन।

भारतले ११.४ ओभरमा ११७ रन बनाउँदै सहज जीत दर्ता गर्यो। खेलमा करुणा कुमारीले ४२ रन जोडिन् भने पुला सुरेन ४४ रनमा सजिलो जीत सुनिश्चित गरिन्। अन्त्यतिर बसन्ती हाँस्दाले १२ रन थप्दै भारतलाई उपाधि दिलाइन्।

नेपालको टिममा गीता पौडेल, विनिता पुन, विनिता सोमाई, दिल्ली सरा धमला, देवकी थापा मगर, अङ्गिला ढकाल, मनकेसी चौधरी, कान्ती डगौरा, सरिता घिमिरे, सुनीता भुजेल, सुष्मा तामाङ, पुनम चौधरी, लक्ष्मी तामाङ, एसरा माया लुङ्गेली मगर, विमला राई र प्रतिभा राई रहेका थिए। टिम प्रमुख प्रशिक्षक पुरनसिंह खत्री, सहायक प्रशिक्षक नरेन्द्र निरौला, र टिम म्यानेजर भगवती भट्टराई बराल थिए।

प्रतियोगितामा नेपालसहित ७ राष्ट्र सहभागी थिए।

प्रतिक्रिया