एनपीएलको ‘अफिसियल न्युज पार्टनर’माथि सट्टेबाजी प्रचारको आरोप


काठमाडौं-  नेपाल प्रिमियर लिग (एनपीएल) को ‘अफिसियल न्युज पार्टनर’ डाफा न्युज अनलाइन सट्टेबाजी (बेटिङ)को प्रचार गरेको आरोपमा विवादमा तानिएको छ। समाचारको आडमा बेटिङ प्लेटफर्मको ‘सरोगेट विज्ञापन’ गरेको भन्दै विज्ञापन बोर्डले कारबाहीको तयारी थालेको छ।

डाफा न्युजको वेबसाइटमा खेलसँग सम्बन्धित समाचार विरलै अपडेट हुने गरेको छ। एनपीएलकै समाचार पनि वेबसाइटमा प्रायः भेटिँदैन। वेबसाइटको हेडरमा राखिएको टेलिग्राम लिङ्कले प्रयोगकर्तालाई ‘डाफा इन्डिया’ नामक च्यानलमा पुर्‍याउँछ, जहाँ बेटिङ प्लेटफर्म ‘डाफा बेट’ सम्बन्धी सयौँ लिङ्क उपलब्ध छन्। यसले डाफा न्युजले प्रयोगकर्तालाई सट्टेबाजी साइटसम्म पुर्‍याएको प्रमाणित गर्छ।

त्यसैगरी, डाफा न्युज र डाफा बेटको लोगो, ब्रान्ड कलर र डिजाइनमा समानता देखिनुले यो सरोगेट विज्ञापन भएको पुष्टि गर्दछ।

यसअघि विज्ञापन बोर्डले १ भदौ २०८२ मा एक सूचना जारी गर्दै वनएक्स ब्याट, उल्फ ७७७ र डाफा न्युजलाई सट्टेबाजी प्लेटफर्मका रूपमा चिनाएको थियो। यो विषय सार्वजनिक भएपछि बोर्डले कारबाही प्रक्रिया अघि बढाएको हो। बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले डाफा न्युजलाई स्पष्टीकरण सोध्ने तयारी भइरहेको जानकारी दिए।

नेपालमा अनलाइन सट्टेबाजी र यसको प्रचार पूर्ण रूपमा गैरकानुनी मानिन्छ। बोर्डले डाफा न्युज लगायत प्लेटफर्मलाई विज्ञापन नगर्न नेपाल क्रिकेट संघ (क्यान) लाई निर्देशन दिएको थियो। यद्यपि सरोगेट विज्ञापनमा स्पष्ट कानुन नभएकाले क्यानले खुला रूपमा प्रचार गरिरहेको देखिन्छ।

प्रतिक्रिया