
जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत दिने निर्णय
काठमाडौं- सरकारले जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई प्रत्येकलाई १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिएका छन्।
त्यस्तै, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारले उपलब्ध गराउने करिब ५ मिलियन अमेरिकी डलर र स्वीटजरल्याण्ड सरकारले दिने करिब २.१ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत बैठकले गरेको छ।
मन्त्रिपरिषद्ले नेपाल स्टक एक्स्चेन्स लिमिटेडको पुन:संरचना सम्बन्धी आवश्यक अध्ययन गरी सुझाव पेश गर्न प्रकाशजंग केसीको संयोजकत्वमा सुझाव समिति गठन गर्ने निर्णय पनि गरेको छ।
यसैगरी, बैठकले माथिल्लो मुस्ताङमा विदेशी नागरिकको पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर कायम गर्ने गरी अध्यागमन नियमावलीमा संशोधन गर्ने निर्णय गरेको छ।
साथै, सहिद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।



कागजपत्र |
