प्रसाई पक्राउपछि सहयोगी ‘निगरानी’मा

७ गतेको आन्दोलन उच्च जोखिम हुने आँकलन


काठमाडौं — व्यापारी तथा राजनीतिक रूपमा सक्रिय दुर्गा प्रसाईंलाई हिजो (सोमबार) मध्यराति पक्राउ गरेपछि काठमाडौँ उपत्यका उच्च सुरक्षा सतर्कता अपनाइएको छ । प्रसाईलाई पक्राउ गरेपछि हुनसक्ने सम्भावित प्रदर्शन र भड्काउको आंकलन गर्दै प्रहरी उच्च सतर्कताको अवस्थामा रहेको हो ।

यतिबेला प्रसाईका नजिकका सहयोगी, आयोजक र मिडिया समन्वयकर्तादेखि सामाजिक सञ्जालमा सक्रिय व्यक्तिसमेत प्रहरीको निगरानीमा रहेका छन्।

स्रोतका अनुसार प्रसाई पक्राउलगत्तै प्रहरीले प्रसाईंसँग सम्बद्ध व्यक्तिहरुको गतिविधिमा निगरानी गर्नुका साथै सम्भावित भड्काउ रोकथामका लागि योजना बनाएको छ । प्रसाई समूहले घोषणा गरेको मंसिर ७ को आन्दोलन राजधानी सुरक्षाको दृष्टिले उच्च जोखिमको रूपमा प्रहरीले मूल्यांकन गरेको छ ।

प्रहरीले पछिल्लो एक साता देखिका प्रसाईका उत्तेजनात्मक अभिव्यक्ति, राजनीतिक आक्रमकता, भीड परिचालनको दाबी र कसैले रोके रोकिने छैन’ किसिमका चेतावनीहरूको मध्य नजर गर्दै प्रदर्शन वा प्रत्यक्ष भिडन्तमा रूपान्तरित हुनसक्ने निष्कर्षसहित प्रसाईलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रदर्शन शान्तिपूर्ण रहोस् भन्ने प्रहरीको प्राथमिकता हो तर पछिल्लोपटक प्रसाईंद्वारा सार्वजनिक सामाग्री र उनको आक्रामक अभिव्यक्ति  र अन्धभक्त समर्थकका कारण जोखिम बढाएका कारण प्रसाईलाई नियन्त्रणमा लिएको हो ।

प्रसाई निकट व्यक्तिहरूले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा व्यक्त गर्ने अभिव्यक्ति, तथा आन्दोलन उक्साउने सामग्री प्रहरीले नियमन समेत गर्न थालेको छ। प्रहरीले प्रसाईका सहयोगीका साथै उनका समर्थकहरुलाई पनि निगरानीमा राखेको छ । प्रहरीले प्रसाईंको साथमा लागेर उच्छृंखल अभिव्यक्ति दिने उनका समर्थक र सहयोगीहरुलाई पनि निगरानीमा राखेको र गतिविधि बढेमा नियन्त्रणमा लिने तयारी गरेको छ ।

एक प्रहरी अधिकारीले प्रसाईंको अभिव्यक्तिले मुठभेड निम्तन सक्ने बताउँदै त्यस किसिमको घटना घट्न नदिनु प्रहरीको दायित्व रहेको बताए । उनले भने, ‘प्रसाईको उत्तेजनात्मक अभिव्यक्तिले वातावरण बिग्रन सक्छ, त्यसैले बयान नियन्त्रण अहिले सुरक्षा प्राथमिकताको हिस्सा बनाइएको हो।”

 

माइतीघर, नयाँबानेश्वर, बबरमहल क्षेत्र ‘उच्च निगरानीमा’

काठमाडौँ प्रहरीले आन्दोलनको सम्भावित मार्ग—माइतीघर, नयाँबानेश्वर, बबरमहल, प्रदर्शनीमार्ग र त्रिपुरेश्वर क्षेत्रलाई ‘उच्च निगरानी क्षेत्र’ घोषणा गर्दै अतिरिक्त प्रहरी फोर्स परिचालन गरेको छ। भीड व्यवस्था, आकस्मिक भिडन्त रोकथाम र ट्राफिक अवरोध न्यूनिकरणका लागि विशेष टोलीहरू खटाइएको छ ।

सामाजिक सञ्जालमा फैलिएको केही सामग्रीले पनि प्रहरीको चासो बढाएको छ। फेसबुक–टिकटक लाइभमार्फत प्रसारित हुने उक्साहटपूर्ण सामग्रीलाई पनि प्रहरीले विशेष निगरानी गरेको छ ।

काठमाडौं प्रहरीले प्रसाईं समर्थकहरुको उच्छृंखल अभिव्यक्तिको नियन्त्रणका साथै सार्वजनिक सुरक्षालाई प्राथमिकतामा राखेको छ । पछिल्लो जेनजी आन्दोलनमा भएको जनधनको क्षति र गत चैतमा प्रसाईकै आयोजनामा भएको प्रदर्शनका क्रममा भएको क्षतिको नियतिलाई मध्यनजर गर्दै प्रहरीले अगाडिदेखि नै योजना बनाउनुपर्ने देखिन्छ । प्रसाई र उनका समर्थकहरुका सुरक्षासँग जोडिएका अभिव्यक्तिलाई समयमै निगरानीमा राखेर मत्थर बनाउनु अहिले प्रहरीको पहिलो प्राथमिकता रहेको छ ।

प्रतिक्रिया