
बालबालिकालाई चुनावी गतिविधिमा नलगाउन आयोगलाई ध्यानाकर्षण
काठमाडौं – बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आगामी निर्वाचनमा विद्यालय र बालबालिकालाई कुनै पनि राजनीतिक गतिविधिमा प्रयोग नगर्न आग्रह गर्दै निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई ध्यानाकर्षण गराएको छ।
२००० देखि बालअधिकार संरक्षणमा काम गर्दै आएको सात प्रदेश, ५० जिल्ला र १०७ सदस्य संस्थाहरूलाई समेट्ने अभियानले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै बालबालिका सम्बन्धी ऐन, निर्वाचन आचारसंहिता तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार १८ वर्ष मुनिका बालबालिकालाई कुनै पनि निर्वाचन गतिविधिमा सहभागी नगराउन आयोगले प्रभावकारी अनुगमन गर्नुपर्ने माग गरेको हो।
अध्यक्ष तिलोतम पौडेल, उपाध्यक्ष हेमराज जोशी, सदस्य शान्ता दाहालसहितको टोलीले प्रमुख आयुक्तसँग भेट गरी ध्यानाकर्षण गराएको हो।
प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोग बालमैत्री निर्वाचनका पक्षमा रहेको भन्दै कुनै पनि राजनीतिक दललाई विद्यालय र बालबालिकाको प्रयोग नगर्न कडाइका साथ निर्देशन दिइने बताए। उनले यसपटक विगतभन्दा अझ प्रभावकारी अनुगमन गरिने उल्लेख गर्दै निर्वाचन सफल बनाउन नागरिक समाज र सरोकारवालाहरूको सहयोग अपरिहार्य रहेको बताए।



कागजपत्र |
