
मंसिर १५ भित्र महाधिवेशन सुरू गर्नुपर्नेलगायत ७ मागसहित कांग्रेस २५ केन्द्रीय सदस्यको ज्ञापनपत्र
काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले पार्टीको १५ औँ महाधिवेशनका सन्दर्भमा विभिन्न ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा ज्ञापनपत्र बुझाइएको केन्द्रीय सदस्य उदय शमशेर राणाले जानकारी दिए ।
उनीहरूले ज्ञापनपत्रमा सरकारले फागुन २१ गतेका लागि निर्धारण गरेको प्रतिनिधिसभा निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मङ्सिर १५ गतेभित्र सुरु गर्नुपर्ने उल्लेख गरेका छन् ।
‘आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मङ्सिर महिनाभित्र १५ औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्ने,’ज्ञापनपत्रमा उल्लेख छ ।
त्यस्तै ज्ञापनपत्रमा महाधिवेशन सम्पन्न गर्ने पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समय सीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुङ्ग्याउनु पर्ने उल्लेख छ ।
१५ औँ महाधिवेशनको सम्बन्धमा शीर्षकमा बुझाइएको ज्ञापनपत्रमा भदौ २३ र २४ गते भएको घट्नाको निष्पक्ष छानबिन गरी आपराधिक कार्यमा संलग्न सबैलाई कानुनको दायरामा ल्याई कारबाही गर्न माग गरिएको छ ।







कागजपत्र |
