पोर्चुगलमा उच्च दक्षबाहेक सबै कामदारका लागि भिसा बन्द


पोर्चुगल- पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल र मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीहरूलाई कामदार भिसाका नाममा भइरहेको ठगीबाट सावधान रहन आग्रह गरेको छ।

दूतावासले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा पोर्चुगल सरकारले यही कात्तिक ६ गतेदेखि लागू हुने गरी उच्च दक्ष बाहेकका सबै प्रकारका कामदार भिसा बन्द गरेको स्मरण गराउँदै त्यसको गलत फाइदा उठाउँदै ठगी गर्ने गिरोह सक्रिय भएको जनाएको छ।

दूतावासका अनुसार हाल नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा ‘पोर्चुगल पठाइदिन्छौं’ भन्ने नाममा रकम असुल्ने गैरकानुनी दलाल समूहहरू सक्रिय रहेको जानकारी प्राप्त भएको छ।

“कामदार भिसा बन्द भइसकेको अवस्थामाअनुसार त्यस्ता भिसा प्रयोग गरेर कोही पनि पोर्चुगल आउन पाउने छैनन्,” दूतावासले भनेकाे छ । साथै, विद्यमान कानुनी अवस्थालाई बेवास्ता गरेर ठगीमा संलग्न हुने वा त्यस्ता अफरमा फस्ने दुवैलाई कानूनी कारबाही हुन सक्ने चेतावनीसमेत दिएको छ।

दूतावासले विदेशमा रहेका र पोर्चुगल आउन चाहने सबै नेपालीहरूलाई यस्ता भ्रामक अफर र ठगी गतिविधिबाट जोगिन अनुरोध गर्दै कुनै पनि शंका लाग्दा सीधै दूतावास वा सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ।

 

प्रतिक्रिया