
जेनजी प्रदर्शनका घाइतेहरूकाे वर्गीकरणका लागि जिल्ला समितिहरू सक्रिय
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण कार्य सहज बनाउनका लागि देशभर जिल्ला समितिहरू गठन गरी सक्रिय रूपमा काम सुरु गरेको जनाएको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, भदौ २३ र २४ गते भएका जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरणका लागि मन्त्रीस्तरबाट स्वीकृत “जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२” लागू गरिएको हो।
उक्त कार्यविधिअनुसार प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) संयोजक रहने गरी ८ सदस्यीय जिल्ला स्तरीय वर्गीकरण तथा सहजीकरण समिति गठन गरिएको छ। गृह मन्त्रालयले कार्तिक २५ गते सबै जिल्ला प्रशासन कार्यालयहरूलाई वर्गीकरण कार्य यथाशिघ्र सम्पन्न गरी विवरण स्वास्थ्य मन्त्रालयको प्राविधिक समितिमा पठाउन निर्देशन दिइसकेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा जिल्ला अस्पताल प्रमुख, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य कार्यालय प्रमुखहरूलाई वर्गीकरण कार्यमा आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरिएको छ।




कागजपत्र |
