गृहमन्त्रीले गरे आईजीपी खापुङको बिदाइ


काठमाडौं –  ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई गृहमन्त्री ओमप्रकाश अर्यालले औपचारिकरूपमा बिदाइ गरेका छन्। बुधवार गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा मन्त्री अर्यालले खापुङको योगदान, कार्यकुशलता र नेतृत्व क्षमताको प्रशंसा गर्दै सुखद अवकाश जीवनको शुभकामना दिएका हुन्।

मन्त्री अर्यालले छोटो अवधिमा नेतृत्व सम्हाले पनि खापुङले देखाएको बौद्धिकता, पेशागत दक्षता र निष्ठाले नेपाल प्रहरीभित्र मनोबल उच्च राख्न सहयोग पुगेको बताए। उनले भने, “अवकाश हुँदैमा जिम्मेवारी सकिँदैन, राष्ट्रिय जीवनमा तपाईँहरूको योगदान सधैं आवश्यक हुन्छ।”

गृहसचिव रामेश्वर दंगालले पनि आईजीपी खापुङको कार्यकुशलता, संगठनात्मक क्षमताको प्रशंसा गर्दै उनको अवकाशपछिको जीवन सफल र ऊर्जाशील रहने विश्वास व्यक्त गरे।

खापुङले आफ्नो बिदाइ सम्बोधनमा प्रहरी सेवामा सफल हुन सेवाप्रतिको निष्ठा, इमानदारी र लगनशीलता अपरिहार्य हुने बताएका थिए।

प्रतिक्रिया